राजनीति

प्रदेश-१ को राजधानीका लागि जग्गा खोज्न कार्यदल गठन


काठमाडौँ — प्रदेश १ सरकारले प्रदेशको राजधानीका लागि जग्गा खोजी गर्न कार्यदल गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश कार्यालयका प्रशासनिक संरचनाहरु बनाउन आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा प्रदेश राजधानी जग्गा व्यवस्थापन कार्यदल गठन गरेको एक मन्त्रीले जानकारी दिए ।

जसको सदस्यमा विराटनगर महानगरपालिका, कटहरी नगरपालिका, ग्रामथान नगरपालिका, बुढीगंगा गाउँपालिका, इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिका प्रमुख र सदस्य सचिवमा मुख्‍यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार महाशाखाका सचिव रहने छन् ।

प्रदेशको नामाकरणका लागि समन्वय र सहजीकरणका लागि सरकारको तर्फबाट जयराम यादवलाई जिम्‍मेवारी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले केही प्रदेश ऐन संशोधन विधेयक २०७८ लाई प्रदेश सभाबाट फिर्ता लिने निर्णय गरेको छ । यस्तै संघीय सरकारले सडक, पुललगायतका भौतिक पूर्वाधारमा ८ अर्ब १५ करोडको लागत प्रदेशमा हस्तान्तरण गरेको भन्दै प्रदेश सरकारले सो रकम उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेको मन्त्रीले बताए ।