राजनीति

राप्रपा केन्द्रीय समिति बैठक फागुन पहिलो साता


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौंमा हुने भएको छ ।

निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए । समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा छलफल हुने उनले बताए ।

गत मंसिरमा महाधिवेशन सम्पन्न गरेको राप्रपाले दोस्रो पटक कार्यसमिति बैठक गर्न लागेको हो । १ सय ९९ केन्द्रीय सदस्यको व्यवस्था भएको पार्टीमा २० सदस्य मनोनयन गर्न बाँकी छ । पार्टीले महामन्त्री पाठकको संयोजकत्वमा ७ सदस्यीय स्थानीय तह निर्वाचन तयारी समिति गठन गरिसकेको छ ।

समितिले जिल्ला सभापति, प्रदेश प्रमुख र नगर कार्यसमिति अध्यक्षसँग भर्चुअल माध्यमबाट बैठक सम्पन्न गरेको छ । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले वाग्मती प्रदेश र प्रदेश १ मा विस्तारित बैठक तथा आमसभा हाललाई स्थगन गरिएको उनले बताए ।

राप्रपाले मधेस प्रदेशमा भेला सम्पन्न गरेको भए पनि विस्तारित बैठक रोकिएको छ । कर्णाली प्रदेशमा आमसभा हाललाई स्थगन गरिएको पार्टीले जनाएको छ ।