राजनीति

सहिदहरुको अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको अभिलेख तयार गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् । सहिद सप्ताहको अन्तिम दिन आइतबार लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले सहिदहरुको अभिलेख तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताए । सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताए ।

सहिदको सपना साकार पार्न सबैले आ-आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राखे ।

सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सहिदको योगदानले नै देशमा प्रजातन्त्र स्थापन सम्भव भएको धारणा राखे । महामारीका कारण सो कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्य सचिव शङ्करदास बैरागीलगायत अन्य केही सीमित उच्चपदस्थ अधिकारी मात्र उपस्थित थिए ।