राजनीति

शहिदको आकाङ्क्षा पूरा गर्न इमान्दारीका साथ भूमिका खेल्नुपर्नेमा राष्ट्रपतिको जोड


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताउनुभएको छ ।

शहिद दिवसका अवसरमा सन्देश जारी गर्दै उहाँले सहिदको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने शहिदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपति भण्डारीको छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले विकसित राष्ट्र निर्माण गर्न सहिदहरूले आफ्नो जीवन बलिदान गरेको उहाँले स्मरण गर्नुभएको छ ।