राजनीति

चुनाव टार्ने विकल्पमाथि ब्रेक : प्रचण्ड–माधव अफ्ठेरोमा, ओली दंग (भिडियोसहित)


काठमाडौँ — स्थानीय तह निर्वाचन सम्बन्धी ऐनलाई संसोधन गर्दै निर्वाचन टार्ने प्रस्तावमाथि छलफल चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ प्रस्ताव अघि बढाएका छन् ।

जसले गठबन्धनमा आवद्ध दलहरुलाई झस्काएको मात्रै छैन, चुनाव टार्ने विकल्पमाथि समेत ब्रेक लाग्ने देखिएको छ ।

समयमै निर्वाचनबाहेकका सबै विकल्प गैरसंवैधानिक ठहर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार एकाएक युटर्न लिए । स्थानीय तहको निर्वाचन धकेल्न गठबन्धनमा ऐन संसोधनबारे छलफल चलिरहेका बेला देउवाले ऐन संसोधन नगर्ने बरु तत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेपछि गठबन्धनसम्बद्ध अन्य दललाई सरप्राइज मिलेको छ ।

त्यतिमात्र होइन, संविधान र ऐनको छिद्र देखाएर निर्वाचन सार्न प्रस्ताव गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल देउवाको प्रस्तावले झस्किएका छन् । तथापी देउवाको प्रस्ताव सँगै उनीहरुको बोली पनि फेरिएको छ ।

यसअघि बैशाखमा कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गर्न नहुने नेपालको अडान थियो । बरु चुनाव धकेल्दै तीनै तहको निर्वाचन एकैपटक गर्ने प्रस्तावमाथि जोड दिइरहेका उनी अहिले बैशाखमै निर्वाचन भए पनि सामना गर्न तयार रहेको बताउन थालेका छन् । यसलेमाधव–प्रचण्डलाई फकाएरै देउवा ऐन संसोधन नगर्ने मनासायमा पुगेको बुझ्न कठिन छैन ।

यसका लागि देउवाले माधव–प्रचण्डलाई चुनावसम्मै गठबन्धन लैजाने गरि आश्वस्त पारेका स्रोतको भनाइ छ ।किनकि स्थानीय तहको निर्वाचन पहिला भए गठबन्धन नरहने डर माधव–प्रचण्डलाई छ । तर देउवाको युटर्नका पछि राष्ट्रपतिको भूमिका पनि निर्णायक बनेको छ । बिहिबारमात्रै प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । भेटमा ऐन संसोधन गरि चुनाव सार्ने काम नगर्न भण्डारीले सात बुँदे लिखित आग्रह नै थमाएकी थिइन् ।

राष्ट्रपति लिखित रुपमै एन संशोधनको विरुद्ध उत्रिएपछि शनिबार बसेको गठबन्धन बैठकले त्यसको आलोचना गरेको छ । तर राष्ट्रपतिसहित प्रतिपक्षी नेकपा एमालेलगायतका राजनीतिक दल, निर्वाचन आयोग र आफ्नै पार्टीभित्रको दबाबका कारण देउवाले वर्तमान संविधान र ऐन संसोधनको झण्झटमा फस्नुभन्दा समयमै निर्वाचनको प्रस्ताव गरेका हुन् ।
देउवाको प्रस्तावले प्रमुख प्रतिपक्षी एमालेलाई भने खुशी तुल्याएको छ । वैशाखमै स्थानीय तहको चुनाव हुँदा सत्ता गठबन्धनमा गडबड हुने र त्यसको राजनीतिक फाइदा आफ्नो पार्टीलाई मिल्ने एमाले नेताहरुको बुझाइ छ । किनकि गठबन्धन तलमाथि भए आफुले जित्नु भन्दा एमालेलाई हराउनु उद्देश्य बनाएका प्रचण्ड–माधव अफ्ठेरोमा पर्नेछन् ।

देउवाको प्रस्तावपछि प्रचण्ड–माधव मात्रै नभएर काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि झस्कीएका छन् ।गत निर्वाचनमापराजित उनी संसदीय निर्वाचन पहिला गरेर गठबन्धनकै बलमा चुनाव जित्ने तयारीमा थिए ।

अर्का नेता कृष्णप्रसाद सिटौलाको आडभरोशा पनि गठबन्धनमै अड्किएको छ ।तर चौतर्फि दबाबपछि देउवाले तत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेसँगै चुनावी बहस नयाँ मोडमा पुग्नेमात्रै होइन, हाललाई चुनाव टार्ने प्रस्तावमाथिसमेत ब्रेक लाग्ने देखिएको छ ।