राजनीति

माधव नेपालले भने : चुनावबाट भाग्दैनौँ, वैशाखमै भए पनि भिड्न तयार छौँ


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय निर्वाचन संविधानअनुसार नै हुनुपर्ने बताएका छन् । यसरी संविधानअनुसार हुने चुनाव आगामी वैशाखकै लागि तोकिए पनि आफ्नो पार्टी भिड्न तयार रहेको उनले बताए ।

पार्टीनिकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘जनतामा जाने कुरालाई सहज ठानेका छौँ । चुनावलाई लिएर अरू आत्तिएका होलान् । तर, हामी आत्तिएको छैनौँ । वैशाख, जेठ, असार अथवा असोजमै भएपनि सामाना गर्न तयार छौँ । अहिले गठबन्धन टुटाउन मात्रै भ्रम फैलाइएको छ। कांग्रेसका सबै नेताहरु र प्रधानमन्त्रीज्युले आजको बैठकमा पनि गठबन्धनलाई निरन्तरता राख्ने प्रतिबद्धता जनाइसक्नुभएको छ ।’

कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता राख्ने प्रतिबद्धता जाहेर गरेको समेत बताएका छन् ।

स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन र संविधान बाझिएर बहसको विषय बने पनि निर्वाचनबारे गठबन्धनका दलले जे निर्णय गरे पनि त्यसलाई मान्न तयार भएकाले कुनै शंका नगर्न स्पष्ट पारे ।