राजनीति

गठबन्धन तोड्न चाहने चुनावसँग आत्तिए होलान्, हामी छैनौं : नेपाल


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् । अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका हुन् ।

शनिबार काठमाडांैमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै नेपालले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दावी समेत गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने बताए ।

नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काँग्रेसका नेताहरु सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको पनि बताए । अध्यक्ष नेपालले भन्नु भयो, ‘चुनावसँग हामी आत्तिएका छैनौं । चुनाव यही वैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौं ।’

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिना भित्र गर्न उपयुक्त हुने धारणा राखे । स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल असोज २ गते पछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दावी उनको छ ।

अध्यक्ष नेपालले संवैधानिक व्यवस्था अनुसार चुनाव हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गरे । उनले भने ‘चुनावको बारेमा अनेकौ भ्रम बाहिर पैदा गर्न खोजिएको छ । यो भ्रमलाई चिर्नुपर्ने आवश्यक्ता छ ।’

अध्यक्ष नेपालले काँग्रेस नेताहरु गठबन्धनमा आवद्ध दलहरुको सहमतिमा स्थानीय तहको निर्वाचन गराउन सहमत रहेको खुलासा गरे ।