काठमाडौँ – राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक तथ्यांक अनुसार रसुवामा जम्मा भएको घर परिवारभन्दा बढीले भूकम्प पीडित लाभग्राहीको संख्या बढी देखिएको छ । रसुवामा भएको जम्मा घरपरिवार भन्दा ९ सय ४५ बढी घर परिवारले भूकम्प पीडितको राहत पाएको देखिएको छ ।
हाल गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकलाई आधार मान्ने हो भने रसुवामा ११ हजार ३ सय ६२ घर छन् । जसमा ११ हजार ८ सय ४१ परिवार बसोबास गर्छन् । तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १२ हजार ३ सय ७ जना भूकम्प पीडितसँग लाभग्राहीका रुपमा सम्झौता गरिसकेको छ ।
प्राधिकरणको तथ्याङ्क अनुसार गोसाइँकुण्ड गाउँपालिकाका १ हजार ९ सय ३६, कालीकाका २ हजार ६ सय ८, नौकुण्डका ३ हजार ३ सय ६३, आमाछोदिङ्मोका २ हजार ३५ र उत्तरगयाका २ हजार ३ सय ६५ जना लाभग्राहीसँग सम्झौता भएको छ । प्राधिकरणले गरेको सम्झौता अनुसार जिल्लामा १२ हजार ३ सय ७ वटा घर हुनुपर्ने हो ।
तर बिहीवार सार्वजनिक भएको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा र प्राधिकरणको तथ्यांकमा मेल खाएको देखिदैँन । प्राधिकरणको तथ्यांकभन्दा जनगणनाको तथ्यांकमा घरको हिसाबले ९ सय ४५ घर कम र परिवारको सङ्ख्यामा ४ सय ६६ कम देखिन आएको हो ।
गोसाइँकुण्ड गाउँपालिकामा २ हजार १ सय ४९ घरमा २ हजार ४ सय ७७ परिवार, कालीकामा २ हजार ४ सय १२ घरमा २ हजार ४ सय ७४ परिवार, नौकुण्डमा २ हजार ८ सय ७८ घरमा २ हजार ८ सय ९९ परिवार, आमाछोदिङ्मोमा १ हजार ६ सय ८८ घरमा १ हजार ७ सय २७ परिवार र उत्तरगयामा २ हजार २ सय ३५ घरमा २ हजार २ सय ६४ परिवार बसोबास गर्ने प्रारम्भिक नतिजामा उल्लेख छ ।


प्रतिक्रिया