देश

चिनियाँ खाद्य सामग्रीको आयातमा वृद्धि


काठमाडौँ – रसुवागढी नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा १ सय ४६ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको छ ।

खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको तथ्याङ्क अनुसार फूल तथा सागपातजन्य ४८ दशमलव ५ टन, खाद्यान्न दलहन तथा अन्य १७ दशमलव ६ टन, मसलाजन्य १३ दशमलव ८, मासुजन्य २ दशमलव ४, दूधजन्य १ दशमलव ६, चियाजन्य ७ दशमलव ४ टन, माछाको अचार १४ दशमलव ४ टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका २८ टन खाद्य सामग्री आयात भएको हो ।

चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात हुने गरेको छ । नाकाबाट खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी हुने गरेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा गएको वर्षको तुलनामा खाद्य सामग्रीको आयात बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताउनुभयो । अहिले एकद्वार प्रणाली लागू भएपछि इर्पोट पर्मिट नलिएकाहरुको सिष्टमले नै भन्सार गर्न नमिल्ने भएकोले परीक्षण गर्नेको सङ्ख्या पनि बढेको हो ।