राजनीति

जनमतका कार्यकर्तालाई कारवाही गर्न निर्देशन


काठमाडौँ – मधेस प्रदेश सरकारले सीके राउत नेतृत्वको पार्टी जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन दिएको छ । बुधबार जनकपुरमा सञ्चालित राष्ट्रिय सभाको निर्वाचनमा आएका जनप्रतिनिधिहरुको गाडीमा तोडफोड र अराजक गतिविधि गरेका भन्दै उनीहरुलाई कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको हो ।

जनमत पार्टीका कार्यकर्ताले प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका प्रमुख, उपप्रमुख, जलेश्वर अस्पतालका मेसु डा.सतिश साहलगायतका सवारी साधन तोडफोड गर्नाका साथै सांघातिक आक्रमण गरेको घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवं दोषी उपर कारवाही गर्न तालुक निकायलाई निर्देशित गरिएको बुधबार बेलुकी निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, मधेश प्रदेशमा राष्ट्रियसभाको निर्वाचन बिथोल्न खोजेको आरोपमा जनकपुरधामबाट पक्राउ परेका जनमत पार्टीका सात कार्यकर्तामाथि प्रहरीले कानुनी कारवाही अघि बढाउने भएको छ । जनमतका कार्यकर्ताहरुले किसान आन्दोलनको नाउँमा बाँसको भाटासहित मतदान स्थलमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।