राजनीति

माधव नेपालले भने : राष्ट्रिय राजनीतिमा तरंग ल्याउने हामी नै हौँ


काठमाडौँ — नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा तरंग पैदा गरिरहेको बताएका छन् ।

अहिले आफ्नो पार्टी ५ दलीय गठबन्धनमा रहेको र ५ दलीय गठबन्धनका सबै दलहरू मिलेर राष्ट्रियसभाको चुनावमा १९ जना उम्मेदवार खडा गरेको उनको भनाइ छ।

बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताए । उनले स्थानीय तहको चुनाव संविधान र कानुनअनुरुप नै हुनुपर्नेमा जोड दिए ।

उनले सत्तारुढ दलहरुबीच एकैपटक तीनवटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग विस्तृत छलफल गरिरहेको बताए । अध्यक्ष नेपालले आज ९बुधबार० भइरहेको राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तारूढ गठबन्धनहरूले जित्ने दाबीसमेत गरे ।

अध्यक्ष नेपालले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो दलको राजनीतिले तरंग पैदा गरिरहेको छ। अहिले हामी ५ दलीय गठबन्धनमा छौँ। ५ दलीय गठबन्धनका सबै दलहरु मिलेर राष्ट्रियसभाको चुनावमा हामीले १९ जना उम्मेदवार खडा गरेका छौँ । सातैवटा प्रदेशमा हुने चुनावमा हाम्रो पार्टीबाट ५ जनालाई उम्मेदवारी दिएका छौँ। मोआवादी ५ जना, कांग्रेस ६ जना, राष्ट्रिय जनमोर्चा १ र जनता समाजवादीको २ जना गरी यसरी हामीले उम्मेदवार तयार गरेका छौँ । ती उम्मेदवारहरुको आज फैसला पनि हुनेछ । हामीलाई आशा छ । १९ वटा स्थानमा हामी नै हामी विजयी हुनेछौँ। त्यो परिणामले पनि तरंग पैदा गर्नेछ ।

अध्यक्ष नेपालले राष्ट्रियसभाको १९ सिटको जितले अन्य तहको चुनावमा पनि तरंग पैदा गर्ने बताए ।