राजनीति

राष्ट्रियसभा निर्वाचन: सातै प्रदेशमा मतदान सुरु


काठमाडौँ – राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । बिहान ९ बजेपछि मतदान सुरु भएको हो ।

सात प्रदेशमा आठ मतदानस्थलको व्यवस्था गरिएको छ । प्रदेश १ मा विराटनगरमा प्रदेश निर्वाचन कार्यालय र वाली संरक्षण प्रयोगशालामा मतदान भइरहेको छ भने मधेस प्रदेशको लागि महेन्द्र नारायण निधि भवन जारी छ ।

यस्तै वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा पनि मतदान भइरहेको छ । यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन धनगढीमा मतदान जारी छ । मतदान केन्द्र भने १४ वटा राखिएको छ ।

फागुनदेखि रिक्त हुने १९ पदका लागि आज मतदान भैरहेको हो । राष्ट्रिय सभा चुनावको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र सकेसम्म आजै नतिजा सार्वजनिक गर्ने तयारीमा आयोग रहेको छ ।

चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी नौ दलका ४३ जनाले उम्मेदवारी दिएका छन् ।