राजनीति

आज राष्ट्रिय सभा निर्वाचन, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय


काठमाडौँ – रिक्त १९ पदका लागि आज राष्ट्रिय सभा निर्वाचन हुँदै छ । बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको निर्वाचन आयोगले जनाएको छ ।

सातै प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा मतदान हुने छ । स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्य गरी कूल २ हजार २५ जना मतदाताले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पाउने छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुने छ । निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहेका छन् ।

रिक्त १९ पदका लागि सत्तागठबन्धन, प्रमुख प्रतिपक्षी एमालेसहित १२ दलले उम्मेदवार उठाएका छन् । सत्तागठबन्धनका ५ दलले १९ पद भागबन्डा गरेर उम्मेदवारी दिएका छन् भने एमालेले १९ पदमै उम्मेदवार उठाएको छ ।

अरू दलले भने सबै प्रदेशमा उम्मेदवार उठाएका छैनन् । राप्रपाले प्रदेश १ मा आफ्ना उम्मेदवारलाई भोट दिन र अन्यत्र मतदानमा सहभागी नहुन निर्देशन दिएको छ ।

रिक्त १९ पदका लागि विभिन्न दलबाट ४३ जना उम्मेदवार मैदानमा रहेका छन् । मतदान सकिएपछि आजै मतगणना गर्ने तयारी छ ।