पर्यटन

चोयु हिमाल आरोहण गर्न १० नेपाली आरोही प्रस्थान


काठमाडौँ — नेपालको रुट हुँदै पहिलोपटक चोयु हिमाल (८१८८ मिटर) को आरोहण हुने भएको छ । नेपालबाट हालसम्म आरोहण हुन नसकेको उक्त हिमाल आरोहण मार्ग निर्माणका लागि अनुभवी १० आरोही गाइडको टोली आधारशिविरतर्फ लागेको छ ।

आरोही गाइडको टोलीले सामूहिकरूपमा पहिलोपटक चोयु हिमाल आरोहणका लागि चुचुरोसम्म बाटो (रुट) निर्माण गर्ने लक्ष्य राखेको हो । आरोही गाइड गेल्जेन शेर्पा , टासी शेर्पा, लाक्पा देण्डी शेर्पा, पेम्बा तेन्जी शेर्पा, तेन्जीङ गेल्जेन शेर्पा, गेसमान तामाङ, विवस शेर्पा , कर्मा शेर्पा र फुरी कित र पेम्बा दोर्जी शेर्पाको टोली आधारशिविरतर्फ हिँडेको हो । नेपाल र चीनको सीमा रहेको चोयु हिमाल नेपालतर्फबाट आरोहणका लागि पटकपटक प्रयास भए पनि सफल हुन सकेको थिएन ।

विभिन्न हिमाल आरोहणका लागि बाटो निर्माणमा सफलता प्राप्त गरेको यी गाइडहरूले यो हिमालको आरोहण रुट निर्माण गर्ने लक्ष्य राखेको गाइड टासी शेर्पा बताए । विश्वका आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने व्यक्तिले अनिवार्यरूपमा चोयु हिमालको आरोहण गर्नुपर्ने भए पनि हालसम्म तिब्बततर्फकै बाटो भएर आरोहण गर्दे आएको छ ।

नेपालतर्फबाट आरोहणका लागि बाटो निर्माण हुन नसक्दा वर्सेनी करोडौं राजश्व राज्यले गुमाउदै आएको छ । यस कार्यमा गाइडहरूले व्यक्तिगत र सहयोग संकलन गरेर बाटो निर्माण गर्ने तयारी गरेको जनाएको छ ।