राजनीति

स्थानीय तह निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई निर्वाचन आयोग आग्रह


काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबार आयोगले विज्ञप्ति निकालेर स्थानीय तहको निर्वाचनको मिति तोक्न बिलम्व हुँदै जाँदा निर्वाचन व्यवस्थापनको काममा समस्या पर्ने भन्दै सरकारलाई ताकेता गरेको हो ।

आयोगले गत कात्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भए आगामी वैशाख १४ गते र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव दिएको थियो ।

त्यस्तै गत पुस ९ गते पनि प्रधानमन्त्रीलाई भेटेर आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गरेका थिए । तर, आफ्नो सुझाव अनुसार सरकारले मिति तोक्नमा ढिलाइ गरेपछि आयोगले पुन सरकारको ध्यानाकर्षण गरेको हो ।

२०७४ सालमा वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन अनुसार पहिलो चरणमा भएको निर्वाचनको मितिलाई आधार मानेर आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने संवैधानिक र कानुनी बाध्यता रहेको बताउँदै आएको छ ।