राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा : आयोग


काठमाडौँ — निर्वाचन आयोगले भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । १९ सिटका लागि सातै प्रदेशमा मतदान हुने तालिका छ ।

आयोगका अनुसार बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको जानकारी दिए । मतदान सकिएपछि दलहरूको बैठक बसेर भोलि नै मतगणना गरिने आयोगले जनाएको छ । आयोगका अनुसार कुनै अवरोध नभए भोलि नै मत परिणाम सार्वजनिक गरिने छ।

आयोगले मतदानका लागि आठवटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । प्रत्येक मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित अधिकतम १० जना कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ । सात प्रदेशमा कुल दुई हजार २५ जनामतदाता छन्। यस निर्वाचनमा ५३२ प्रदेशसभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन् ।

राष्ट्रिय सभाका २० सदस्यको चार वर्षे कार्यकाल आगामी फागुन २१ मा सकिँदैछ । जसमा नेकपा ९एमाले०का आठ, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का चार–चार, नेपाली कांग्रेसका तीन र मनोनीत एक सांसद छन्  । २० मध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुने छन् भने १९ जना मतदान प्रक्रियाबाट निर्वाचित हुनेछन् ।