राजनीति

कांग्रेस सभापतिसँग शेखर समुह रुष्ट, गठबन्धन धरापमा


काठमाडौँ –नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र सभापतिमा पराजित नेता डा.शेखर कोइराला समुहबीच तिक्तता बढ्न थालेको छ ।

सभापति देउवाले महत्वपूर्ण विषयमा पनि पार्टीभित्र छलफल गर्नुको साटो गठबन्धनमा मात्रै छलफल गर्न थालेपछि शेखर समुह असन्तुष्ट बनेको छ । सोमबार मात्रै शेखरसमूहले निर्वाचनबारे पार्टीभित्र छलफल हुनुपर्ने माग गरेको छ । समूहका नेताहरुको भर्चुअल बैठकले पार्टीभित्र छलफल नगरी सभापति देउवाले अन्य पार्टीसँग सहमति गर्नुको औचित्य नभएको निष्कर्ष निकालेको हो ।

भर्चुअल बैठकमा कोइरालासहित कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.मिनेन्द्र रिजाल, चन्द्र भण्डारी लगायत सहभागि थिए । उनीहरुले राष्ट्रिय राजनीतिका गहन विषयमा देउवाले पार्टीभित्र छलफल नगर्नु गलत भएको भन्दै सचेत गराएको हो । यो समुहले वैशाखमै स्थानीय तहको चुनाव गराउनुपर्ने र त्यसका लागि प्रधानमन्त्रीले मिति घोषणा गर्नुपर्नेमा जोड दिएको छ ।

उता देउवा भने पार्टीभित्र भन्दा पनि गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बढि छलफलमा जोडिने गरेका छन् । अब देउवाले कि पार्टीभित्र विवाद बढाउनुपर्ने कि त गठबन्धनसँग दुरी बढाउनुपर्ने अवस्था सृजना हुने निश्चित छ ।