राजनीति

राष्ट्रियसभा सदस्यको निर्वाचन भोली : हिजोदेखि मौन अवधी


काठमाडौँ –भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबारबाट मौन अवधि सुरु भएको छ । राष्ट्रियसभा सदस्यको भोलि माघ १२ गते बुधबारका दिन हुने निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।

निर्वाचन मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने निर्वाचन आयोगले स्पष्ट पारेको छ । आयोगले मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा आचरणहरु पालना गर्न÷गराउन सबैसँग अनुरोध गरेको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा मतदान गर्न सक्नेछन ।

आयोगका अनुसार स्थानीय तह निर्वाचन, २०७४, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७४ र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिनेछ । राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभामा ५९ सदस्यीय छ भने ती सदस्यको कार्यकाल छ वर्षको हुनेछ ।

तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिँदैछ । अर्को दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ । राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम आयोगले १२ माघमा निर्वाचन गर्ने मिति तोकेको हो ।

यो निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । देशभरिबाट प्रदेशसभा सदस्यहरू ५३२, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ जना मतदाता छन् । मंगलबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ ।