राजनीति

मेरो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले अपव्याख्या गरियो : मन्त्री यादव


काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गर्ने काम भएको जिकिर गरेकी छिन् । आफूले दिएको अभिव्यक्ति कसैप्रति लक्षित नरहेको उनको दावी छ ।

मन्त्री यादवले सोमबार विज्ञप्ति जारी गर्दै उनीमाथि भईरहेको आलोचनाको खण्डन गरेकी हुन् । ‘मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेट नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

मन्त्री यादवले माघ ५ गते रौतहटमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गरेर हिंसात्मक अभिव्यक्ति दिएकी थिइन् । वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त समेत गरेकी छन् । सीके राउतको हत्या गर्ने धम्की दिएको भन्दै उनको राजीनामा माग भइरहेको सन्दर्भमा यादवले यस्तो बताएकी हुन् ।