राजनीति

तीन तहको निर्वाचन एकैसाथ गर्न सम्भव छ : मुक्ति प्रधान


काठमाडौँ — पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले सबै तहको निर्वाचन एकैचोटी गर्न सम्भव रहेको बताएका छन् ।

राजधानीमा आइतबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले तीनै तहका निर्वाचन एकैपटक गर्ने विषयमा सकारात्मक रुपमा छलफल गर्नुपर्ने बताए । तीनै तहको निर्वाचनलाई सँगै गर्ने भन्ने विषयमा कोही पनि आतंकित हुन नहुने उनले बताए ।

पूर्वमहान्यायाधिवक्ता प्रधानले भने, ‘जहाँसम्म तीनै तहको निर्वाचन एकैचोटी गर्नुपर्छ भन्ने जुन मत हो त्यसमा छलफल गर्न सकिन्छ । त्यसमा सकारात्मक ढंगले छलफल गर्नुपर्छ। तीनै तहको निर्वाचन एकैचोटी हुनुपर्छ भन्ने कुनै अमुक राजनीतिक पार्टी, नेता, अथवा कुनै समूहले भन्ने वित्तिकै आतंकित हुनुपर्ने मानसिकता हामिले देखिराख्यौ छौँ । यस्तो हुनुहुँदैन भन्ने मलाई लाग्छ ।’

आगामी निर्वाचन स्वच्छ, निर्भिक, स्वतन्त्र र बिना खर्च सम्पन्न हुनेगरी छलफल केन्द्रित गर्नुपर्ने उनको भनाई छ । उनले चुनाव स्वच्छ, निर्भिक, स्वतन्त्र र सुलभ हुनुपर्छ भन्ने विषयमा बहस केन्द्रित गर्न आग्रह गरे ।

‘अबको निर्वाचन कसरी मितव्ययी हुनसक्छ, कसरी स्वतन्त्र, बिना खर्च, सहज, सरल र प्रभावकारी निर्वाचन गर्ने भन्ने विषयमा हामीले छलफल गर्ने क्रममा ऐन बाधक छ कि, संविधान बाधक छ कि, अग्रगामी कसरी हुनसक्छ, सबै निर्वाचन प्रणालीको हकमा हामीले छलफल गर्नुपर्छ’ प्रधानले भने ।

२०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि २०७९ जेठ ५ मा सकिँदै छ । प्रदेशको माघ ४ र प्रतिनिधिसभा सदस्यको पदावधि फागुन २ मा सकिँदै छ । स्थानीय तह निर्वाचन ऐनको दफा ३ को उपदफा १ अनुसार स्थानीय तहको निर्वाचन आउँदो चैत ५ भित्रै गरिसक्नुपर्ने हुन्छ ।