राजनीति

अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर पक्की तटबन्ध बनाउँदै भारत


काठमाडौँ – दार्चुला सदरमुकाम खलंगा बजारको पारिपट्टि महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी भारतले पक्की तटबन्ध निर्माण थालेको छ । भारतीय पक्षले खलंगाको पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुईदेखि पाँच मिटर नदीतिरको भागमा तटबन्ध निर्माण सुरु गरेको हो ।

नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पनि भारतले नेपाली प्रशासनसँग समन्वय गरेको छैन । भारतीय केन्द्रीय जल विभागले माघ ४ बाट आफ्नो भूभागतर्फ पुलघाटदेखि जहरलालसिंह नवियाल स्टेडियमसम्मको एक किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण सुरु गरेको हो । अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैनन् ।

नेपाल–भारतबीच यसअघि आफूखुसी तटबन्ध नबनाउने सहमति भइसकेको छ । अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर भारतले महाकालीको बहाव नेपालतर्फ फर्कने गरी तटबन्ध बनाइरहेको छ । तटबन्ध निर्माण गर्दा भारतीय पक्षले समन्वय नगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतले तटबन्ध निर्माण सुरु गरेपछि मात्रै संरचनाबारे सोधपुछ गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।