मौसम

चिसो बढेसँगै सर्वसाधरणको दैनिकी कष्टकर, सोमबारपछि मात्रै सुधार आउने


काठमाडौँ – केहि दिन यता मौसममा बदली आएसँगै देशका अधिकांश भु–भागमा वर्षा भएसँगै चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत भएको छ । चिसो बढेसँगै देशभर जनजीवन प्रभावित मात्र बनेको छैन, स्वास्थ्य संस्थाहरुमा विरामीको चाप समेत बढेको छ । काठमाडौ उपत्यकामा शनिबार बिहानैदेखि बाक्लो तुवाँलो लागेको छ । शुक्रबार काठमाडौंको न्यूनकतम तापक्रम चार र अधिकतम तापक्रम १६ डिग्रि सेल्सियस रहेको थियो ।

शनिबार न्यूनतम चार र अधिकतम १३.५ डिग्रि सेल्सियस मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो केहि दिन यता उपत्यकासँगै देशभर मौसममा बदली हुँदा हल्का वर्षा हिमपात भैरहेको छ, जसले गदाए चिसो बढेको छ भने जनजीवन प्रभावित बनेको छ । तराईका जिल्लाहरुमा ओड्ने र ओछ्याउने लत्ताकपडाको अभावका कारण सर्वसाधरण मारमा परेका छन् ।

कोरोना महामारीकै बीच चिसो बढेका कारण अस्पतालहरुमा विरामीको चाप समेत बढेको छ । चीसोले आउने ज्वरो र रुघाखोकी सामान्य घरमा पाइने पारासिटामोल जस्ता औषधीहरु प्रयोग गरेर र तातो पानी, बेसारपानी खाए पनि ठीक हुने चिकित्सकहरु बताउँछन् । शरिरमा पानीको मात्रा बढाउन, धपेडी नगर्न र चिसोमा नहिड्न पनि चिकित्सकहरुको सुझाव छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावकार कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, वाग्मती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षासँगै चिसो बढ्ने हुँदा चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सोमबारपछि विस्तारै मौसममा सुधार आउने महाशाखाले जनाएको छ । बढ्दो कोरोना महामारी र चिसो बढेको कारण सर्वसाधरणको दैनिकी कष्टकर बनिरहेको छ । यस्तो अवस्थामा सर्वसाधरण आफै सचेत हुँदै चिकित्सक सुझाव अनुसार स्वास्थ मापदण्डको पूर्ण पालन गर्नुको विकल्प छैन ।