देश

भौतिक रूपमा कक्षा सञ्चालन गरे कारबाही गर्ने महानगरको चेतावनी


काठमाडौँ – काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र रहेका विद्यालयहरुलाई तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । कोरोनाभाइरस संक्रमण तीव्र रूपमा बढिरहेकै अवस्थामा पनि केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कामपा शिक्षा विभागसमेतको निर्देशनलाई समेत बेवास्ता गरेको भन्दै कामपा शिक्षा विभागले सूचना जारी गर्दै भौतिक रूपमा कक्षा सञ्चालन भएको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो । पुनः निर्देशनको बेवास्ता गरी विद्यार्थीको भौतिक सहभागितामा गतिविधि अघि बढाए कामपा कारबाही गर्न बाध्य हुने बताइएको छ ।

कोरोनाभाइरस संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै सरकाले गत पुस २७ गतेदेखि भौतिक उपस्थितमा कक्षा सञ्चालन नगरी वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ । सरकारको निर्देशनको बेवास्ता गरी कामपाका भित्री वडामा विद्यालय सञ्चालन भएको जनगुनासो आएपछि कामपाले पुनः सूचना नै जारी गरेको र फेरि बेवास्ता गरे थप कारबाही अघि बढाउने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।