राजनीति

समयमा नै चुनाव हुनुपर्ने प्रकाशमानको भनाई


काठमाडौँ – सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताउनु भएको छ । नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुुपर्ने पनि स्पष्ट पार्नु भयो ।

शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले संविधानको मर्म र भावना विपरित कुनै पनि तहको निर्वाचनमा जान नहुने बताउनु भयो । उहाँले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिना भित्र स्थानीय तहको निर्वाचन हुुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोही अनुसार हुनुपर्ने दावी समेत गर्नु भयो ।

त्यस अवसरमा काँग्रेस नेता सिंहले डा. मिता सिंहद्वारा लिखित पुस्तक ‘स्ट्रगल अफ गणेशमान सिंह’को विमोचन गर्दै पुस्तकमा गणेशमान सिंहले नेपालको प्रजातन्त्र स्थापनाका लागि गर्नु भएको योगदानको चर्चा गरिएको बताउनु भयो ।