देश

धुर्मुस–सुन्तली भन्छन् : क्रिकेट रंगशाला निर्माणमा अनियमितता भएको छैन


काठमाडौँ – कलाकार एवम् सामाजिक अभियन्ता सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले चितवनको क्रिकेट रंगशाला निर्माणमा अनियमितता नभएको दाबी गरेका छन् ।

उनीहरुले आफूहरुविरुद्ध अख्तियारमा उजुरी परेको भोलिपल्ट एक वक्तव्य निकाल्दै दाताहरुको रकम दुरुपयोग नभएको पनि स्पष्ट पारेका छन् । गौतम बुद्ध क्रिकेट स्टेडियम परियोजना निर्माणमा अनियमितता भएको भन्दै आइतवार मात्रै अख्तियारमा उजुरी परेको छ ।

दुवैले धुर्मुस–सुन्तली फाउण्डेशनको नाममा एक विज्ञप्ति सार्वजनिक गर्दै त्यस परियोजनामा अनियमितता र गलत कार्यको कुनै गुञ्जायस नै नरहेको बताएका छन् । उनीहरुले रंगशाला निर्माणलाई कोरोना महामारी र अन्य समस्याले रोकेको पनि बताए ।