समाचार

मल बिक्री केन्द्र सल्यानका कर्मचारीमाथि १८ लाखको भ्रष्टाचार मुद्दा


काठमाडौँ — साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मल बिक्री केन्द्र सल्यानका तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पासवानविरुद्ध १८ लाख ७६ हजार ६६४ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो । पासवानले सल्यान मल बिक्री केन्द्रमा इन्चार्जको रुपमा कार्यरत रहँदा आफू खुशी व्यक्तिगत खातामा रकम जम्मा गरेर हिनामिना गरेको भन्दै निजबाटै असुल उपर मागदाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको अख्तियाका प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पासवानमाथि भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार मुद्दा दायर भएको छ । पासवानले नियमानुसार हिसाब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दा रकम हिनामिना गरेको खुलेको विज्ञप्तिमा उल्लेख छ ।