देश

पृथ्वीनारायणको योगदानलाई लिएर राजनीतिक दलहरु नै विभाजित (भिडियोसहित)


काठमाडौँ – नेपाल एकिकरणका नायकका रुपमा चिनिने पृथ्वीनारायण शाहको योगदानलाई लिएर नेपाली राजनितिक दलहरु विभाजित छन् । कतिपयले उनको योगदानको कदर गर्र्नुुपर्ने बताउँछन् भने, कतिपय उनको भूमिकाको अवमूल्यांकन गर्ने गर्दछन् । टुक्रा टुक्रामा रहेको नेपालको एकीकरण हुनु आफैमा ऐतिहासिक काम हो । तर, यो महान कार्य पनि पूर्ण रुपमा विवादरहित हुन सकेको छैन् ।

नेपालका पछिल्ला राजनीतिक दलहरु केहिले पृथ्वीनारायण शाहको अत्यधिक प्रशंसा गर्दै उनको यो योगदान सुरुदेखि नै नेपालको एकीकरणका लागि भएको र उनले आफ्नो राज्य गोरखाको विस्तारमा कुनै स्वार्थ नपालेको मान्छन् । कतिपयले उनको सैनिक अभियान पूर्ण रुपले गोरखा राज्यको विस्तारको लागि मात्र भएकोे र उनले नेपालको एकीकरण नगरी जनतामाथि अत्याचार गरेको आरोप लगाउछन् ।

यता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताए । मन्त्री आलेले पृथ्वीनारायण शाहले दिव्योपदेशमा व्यक्त गरेका आत्मनिर्भर अर्थतन्त्र, असंलग्न विदेश नीति, व्यापार, राज्य सञ्चालनका नीति र विचारहरु दूर दृष्टियुक्त रहेको भन्दै त्यसको महत्व र उपयोगितालाई ग्रहण गर्न अफ्ठ्यारो मान्नु नहुने बताए ।

त्यस्तै प्रा.डा त्रिरत्न मान्धरले पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक रहेको बताउछन् । २ हजार वर्ष अघि देखिनै नेपाल देश रहेको र पछि टुक्रिएपछि, पृथ्वीनारायणले एकीकरण गरेको इतिहासविद्हरुको दाबी छ ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।