समाचार

साहित्यकार वाशुदेव भट्टको निधन


काठमाडौँ — साहित्यकार वाशुदेव भट्ट ‘भाइसाब’को ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका भीमदत्त नगरपालिका–१८ कटानस्थित आफ्नै निवासमा आइतबार राति उनको निधन भएको हो ।

भट्टको निधनले सुदूरपश्चिमको लोक साहित्य र शिक्षा क्षेत्रका धरोहर गुमाएको सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका पूर्वडिन भारतीय जोशीले बताइन् । ‘साहित्यकार भट्टका लोक साहित्य र लोक संस्कृति संरक्षणमा ठूलो योगदान रहेको छ‚’ उनले भनिन्‚ ‘सुदूरपश्चिमको लोक साहित्यमा गहिरो अभिरुचि राख्नेमा उहाँ अग्रपंक्तिमा हुनु हुन्थ्यो ।’

सुदूरपश्चिमको साहित्य, शिक्षा, समाजसेवा, राजनीति र मानवाधिकारका क्षेत्रमा समेत भट्टको महत्वपूर्ण योगदान रहेको उनले बताइन् ।

सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा समेत भट्टको योगदान रहेको छ । भट्ट साहित्यकारका रुपमा मात्रै नभएर मानव अधिकारकर्मीका रुपमा समेत परिचित थिए। उनी महाकाली साहित्य संगमका संस्थापनक अध्यक्ष समेत हुन् ।

तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष, महेन्द्र माविका पूर्वशिक्षक भट्टले लोक साहित्य र लोकसंस्कृतिबारे कलम चलाउँदै आएका थिए । उनका दर्जनौं पुस्तक प्रकाशित छन् । भट्टको जन्म २००० असार ५ गते बैतडीको दशरथचन्द नगरपालिका ९५ मा भएको थियो ।