समाचार

र्‍यापर लाउरे थप १७ दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ — लागुऔषधको मुद्दामा पोखराबाट पक्राउ परेका चर्चित र्‍यापर लाउरेसहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

यसअघि अदालतले उनीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएकामा सो म्याद सकिएपछि प्रहरीले थप १७ दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो । लागू औषधसम्बन्धी मुद्दाका अभियुक्तलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई कानुनले छुट दिएको छ । ‘पहिलो मितिको म्याद सकिएपछि दोस्रो पटकको म्याद थपिएको हो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले भने, ‘अनुसन्धान अधिकृतहरुले अनुसन्धान गर्दै हुनुहुन्छ ।’

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा नयाँबजारका ३२ वर्षीय र्‍यापर लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुबबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङ ब्राउन सुगर नामक लागूऔषधसहित पक्राउ परेका थिए ।

पुस १४ गते साँझ करिब ७ बजेतिर उनीहरुलाई सिर्जनाचोकबाट प्रहरीले पक्राउ गरेको थियो । १५ गते सार्वजनिक विदा भएका कारण १६ गतेबाट मात्रै अदालतबाट अनुमति लिएर उक्त मुद्दामा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । प्रहरी स्रोतका र्‍यापर लाउरेले लागुऔषध सेवन गर्नेबारे भने स्वीकारिसकेका छन् ।

कारोबार पुष्टि भएको खण्डमा र्‍यापर लाउरेसहितको समूहलाई ५ वर्षसम्म जेल हुन सक्छ । तर, कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ ।