कोरोना विशेष

कोभिड परीक्षणको दायरा बढाउन थालियो


काठमाडौँ – भारतसँग सीमा जोडिएको नाका पर्साको विरगञ्जमा कडाई गरिएको छ । खुला सीमा जोडिएका वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णयानुसार वीरगञ्ज महानगरसँगै जिल्लाका अन्य पालिकालाई पनि नाकामा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण सुरु गर्न थालिएको मुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । साथै, वीरगञ्जमा भेटिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण ओमिक्रोन भेरियन्ट हो वा होइन सो पत्ता लगाउन २५ नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ पठाइएको छ ।

केन्द्रका अनुसार स्वास्थ्य कार्यालय पर्सामा रहेको जोन्सन खोपलाई आवश्यकताअनुसार सबै स्थानीय तहमा पठाउन थालिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण र जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई अतिआवश्यक कामबाहेक लामो बिदा नदिन सम्बन्धित कार्यालयलाई अनुरोधसमेत गरिएको हो ।