देश

मलेसियाबाट २५ नेपालीको उद्धार


काठमाडौँ – वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा तिनीहरुलाई नेपाल फर्काइएको हो ।

एनआरएनएका उपाध्यक्ष डा.बद्री केसीले वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्धार कार्यक्रममार्फत ती नेपालीलाई जेलबाट छुटाएर स्वदेश फर्काइएको हो । यसरी घर फर्किनेमा मलेसियामा मृत्युदण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय राजकुमार साहसमेत दुई महिलासहित २५ नेपाली रहेका छन् ।

सन् २०१८ को २९ जुलाइमा उच्च अदालतले राजकुमारसहित मलेसियाका अन्य दुई व्यक्तिलार्ई ‘लागूऔषध’ कारोवारमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला सुनाएको थियो ।

उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएपछि त्यहाँस्थित नेपाली दूतावासको आर्थिक र अन्य सहयोगमा राजकुमारले माथिल्लो अदालतमा पुनरावेदन गरेका थिए । डा.केसीको पहलमा एनआरएनए एनसीसी मलेसिया र क्वालालम्पुरस्थित नेपाली दूतावासले उनीहरुको स्वदेश फिर्तीका लागि समन्वय गरेका थिए ।

साहसहित भूपेन्द्र भण्डारी, हिमानचल मौरिया, ओके कुमार यादव, टिकाराम प्रजा, पारसनाथ यादव, कर्णबहादुर तामाङ, हृदेश केवत, राजकुमार साह, कृष्णकुमार मण्डल, कैमुल्ला मिया, राजकुमार माझी, कर्णबहादुर पुन, बेलबहादुर थामी, पूर्णबहादुर सुनारी, आशबहादुर कामी, बाबुराम थापा, दिशन सुनार, सन्जय कुमार यादव, जगलाल तामाङ, रामनाथ पण्डित, सपना तामाङ, जुनु माया बोम्जन, बलन राई र छत्रबहादुर न्यौपानेलाई जेलबाट उद्धार गरी नेपाल ल्याइएको हो ।

संघले जरिवाना तिरेर जेलबाट छुटाउने, कागजी प्रक्रिया मिलाउने र ट्राभल डकुमेण्ट बनाएर पीसीआर परीक्षण गरेपछि उनीहरु स्वदेश फर्कन बाटो खुलेको थियो ।