समाचार

बौद्धमा कोठाभित्र युवक–युवती मृत भेटिए


काठमाडौँ — काठमाडौँको बौद्धमा आज (शुक्रबार) बिहान युवक र युवती एकसाथ मृत भेटिएका छन् ।

बौद्धको फैकास्थित राधाकृष्ण मन्दिरनजिकै सँगै बस्ने गरेका युवक र युवती मृतावस्थामा फेला परेको महानगरीय प्रहरी परिसर (काठमाडौँ) का प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए।

उनका अनुसार संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका–५ की २२ वर्षीया युसुना राईको शव भेटिएका हुन् ।

दुवैलाई धारिलो हतियारले हानेर हत्या गरेको प्रहरीको अनुमान छ । दुवै जनाको शरीरमा चोट छन् । उनीहरू सँगै बस्न थालेको २०/२२ दिन मात्र भएको बुझिएको एसएसपी गिरीले बताए ।

पोस्टमार्टमका लागि दुवै शव त्रिवि शिक्षण अस्पताल लगिएको छ ।