समाचार

कांग्रेस जिल्ला सभापतिलाई ‘धम्क्याउने’ एसपी पाण्डे निलम्बित


काठमाडौँ — नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।

सरुवाको विषयलाई लिएर गोली हानेर मार्छु भन्दै मध्यराति यादवको घर गएका एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए । ‘एसपी पाण्डेमाथि अनुसन्धान जारी छ,’ उनले भने, ‘अनुसन्धानलाई सहयोग पुर्‍याउन उनलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।’

यादव र पाण्डेबीच व्यक्ति पक्राउको विषयमा विवाद हुदाँ पाण्डे पेस्तोल बोकेर राति यादवको घर गएका थिए। लगत्तै उनलाई हेडक्वाटर तानिएको थियो ।