देश

इन्जिनीयरको अभावले विकास निर्माणको काममा तीव्रता दिन सकिएन : मन्त्री यादव


काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयको काममा खट्ने इन्जिनियरहरुको अभावको कारण विकास निर्माणको काम तिव्रता दिन नसकेको बताउनु भएको छ ।

सोमबार भएको प्रतिनिधि सभा अन्र्तगतको अर्थ समितिको बैंठकमा बोल्दै मन्त्री यादवले मन्त्रालयमा काममा खट्ने इन्जिनियरहरुको अभावको कारण विकास निर्माणको काम तिव्रगतिमा अगाडि बढ्न नसकेको बताउनु भयो । मन्त्री यादवले पूर्वाधार निर्माणको काममा खट्ने इन्जिनियहरुको अभाव भएको र भएका इन्जिनियरहरु पनि पढाइ लगायत विभिन्न बिदा लिएर काठमाडौंमा बस्न थालेकाले अझ बढी समस्या भएको बताउनुभयो ।

उहाँले यसरी विकास निर्माणको काममा खट्नु पर्ने इन्जिनियहरु अत्यावश्यक बाहेक विदामा नबसि तत्काल काम गर्न आग्रह समेत गर्नु भएको छ । पढाईको लागि छुट्टिमा मन्त्रालय तथा मन्त्रालय मातहतका ८० भन्दा बढी इन्जिनियरहरु बिदामा रहेको बताउनु भएको हो ।

मन्त्री यादवले भन्नुभयो,‘पछिल्लो समय मन्त्रालयमा कर्मचारी अभावको रहेको छ । कर्मचारी अभावको कारण विकास निर्माणका योजनाहरु अगाडि बढ्न सकेको छैन । योजनाहरु अगाडि बढ्न नसक्दा पुँजीगत खर्च बढ्न सकेको छैन । त्यस्तै पछिल्लो समय पूर्वाधार निर्माणका लागि फिल्डमा खटिनुपर्ने इन्जिनियरहरू बिदामा बसेका छन्। त्यसले पनि १० जनाले गर्ने काम एक जनाले गर्नु पर्ने परिस्थिती रहेको छ । यस्तो अवस्था रहेकाले अत्यावश्यकबाहेक विदामा बस्ने कर्मचारीहरुलाई तत्काल काममा फर्किन आग्रह गर्दछु। अहिले यसरी विदामा बस्ने मन्त्रालय र मातहत निकायका मात्रै ८० भन्दा बढी इन्जिनियरहरू रहेका छन्। त्यसैत मन्त्रालयमा कर्मचारी अभाव भएको बेलामा पढाइ बिदा लिएर काठमाडौंमा बसिरहँदा निर्माणको काम बाधा पुग्ने गरेको छ । यसरी अहिले ८० जनाभन्दा बढी इन्जिनियरहरू बिदा लिएर काठमाडौंमा बसेका छन्। इन्जिनियरहरुलाई काठमाडौंमा बसेर काम छैन । फिल्डमा जनशक्ति अभाव छ ।’