समाचार

सौर्य एयरलाइन्सका विराटनगर स्टेशन इन्चार्ज पक्राउ


काठमाडौँ — त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँ बरामद भएको प्रकरणमा सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेशन इन्चार्ज प्रकाश पौडेल पक्राउ परेका छन् ।

उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । यसअघि शनिबार विराटनगरबाट सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू(२४ मा काठमाडौँ आएकी सिनामंगलकी ३३ वर्षीया रेशा शाक्य पोखरेल स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पक्राउ परेकी थिइन् ।

पोखरेलको बयानका आधारमा सौर्यका स्टेसन इन्चार्ज पक्राउ परेका हुन् । प्रहरी अनुसन्धानमा उक्त रकम पौडेलले पठाएको खुलेपछि आइतबार उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले पक्रेर स्टेशन इन्चार्ज पौडेललाई विभागमा बुझाएको राजश्व अनुसन्धान विभागका सूचना अधिकारी टंकप्रसाद पाण्डेयले बताए ।