राजनीति

राष्ट्रियसभा निर्वाचन प्रक्रिया आजदेखि सुरु


काठमाडौँ — राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आजदेखि सुरु हुने भएको छ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रमअनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम छन् । पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न वितरण र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १ हजार ४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता छन् । त्यस्तै‚ मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन् । आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको छ । आगामी फागुन २० मा नेकपा (एमाले) का आठ, नेपाली कांग्रेसका तीन, नेकपा (एकीकृत समाजवादी) का चार र राष्ट्रपतिबाट मनोनीत एक जनाको कार्यकाल सकिने संघीय संसद सचिवालयले जनाइसकेको छ ।