समाचार

आज राष्ट्रिय टोपी दिवस‚ विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडौँ — आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय टोपी दिवस मनाइँदैछ । विभिन्न संघ संस्थाहरूले छुट्टाछुट्टै कार्यक्रम गरी टोपी दिवस मनाउन लागेका हुन् ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौँ को माइतिघरमण्डलामा ‘औपचारिक राष्ट्रिय पोशाक दिवस’ मनाउँदैछ । प्रतिष्ठानले ‘हाम्रो शान, हाम्रो स्वाभिमान : राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित २०७० साल पुस १७ गतेदेखि हरेक वर्ष यो दिवस मनाउन थालेको हो ।

प्रतिष्ठानको आयोजनामा आज दौरासुरवाल, गुन्युचोली र राष्ट्रिय भण्डासहित उपस्थित भएर र्‍याली गरी माइतीघर मण्डलामा कोणसभा गर्ने कार्यक्रम तय भएको छ । यसबाहेक विभिन्न संस्थाहरुले पनि दिवस मनाउँदैछन् ।

कोरोना भाइरसको महामारीका कारण कतिपय संघ संस्थाले भर्चुअल माध्यममार्फत् अन्तक्रियात्मक कार्यक्रम आयोजना गरेका छन् ।