समाचार

र्‍यापर ‘लाउरे’ ब्राउनसुगर किनबेचका क्रममा पक्राउ परेका थिए


काठमाडौँ — चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ ब्राउसुगरको किनबेचका क्रममा पक्राउ परेको खुलेको छ । पोखराको न्यूरोडमा ब्राउनसुगरको खरिदबिक्री हुँदै गर्दा कास्की प्रहरीले उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी स्रोतकाअनुसार लाउरेको साथबाट ब्राउनसुगर बरामद भएको छैन । साथै उनले सेवन गरेको वा नगरेको पनि प्रष्ट भएको छैन । यसर्थ लाउरेमाथि लागुऔषध सेवन वा कारोबारको मुद्दा आकर्षित हुन्छ भन्ने अन्योल भएको छ ।

प्रहरीले लाउरेसँगै विक्रेताहरूलाई घटनास्थलबाट पक्राउ गरेको थियो । त्यहाँबाट उनीहरूको कोठामा समेत प्रहरीले खातलासी गरी केही परिमाणमा लागूऔषध बरामद भएको बुझिएको छ ।

लाउरेबाट लागुऔषध बरामद नभए पनि खरिद गर्ने मनसाय देखिएकाले लागुऔषध नियन्त्रण ऐन आकर्षित हुन सक्छ । ऐनअनुसार लागु औषध सेवनमाभन्दा कारोबारमा कडा सजायको व्यवस्था छ ।

ऐनमा ब्राउनसुगर लगायतका लागुऔषध सेवन गर्नेलाई १० हजार जरिवाना वा १ वर्ष कैद सजाय हुन सक्छ । कारोबारीलाई भने बरामद भएको लागुऔषधको मात्रा हेरेर २० वर्षसम्मको सजाय व्यवस्था छ ।