समाचार

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश


काठमाडौँ — जिल्ला अदालतले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

सहकारीको ५ अर्ब ५७ करोड ठगी गरेको आरोपमा पक्राउ परेका इच्छाराज र सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठलाई थुनामा पठाउने आदेश अदालतले गरेको छ ।

सहकारीको ५ अर्ब ५७ करोड ठगी गरेको आरोपमा पक्राउ परेका इच्छाराज र सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठलाई थुनामा पठाउने आदेश अदालतले गरेको छ । सिभिल सहकारीमा निक्षेपकर्ताले तिरेको पैसा फिर्ता नगरेपछि इच्छाराजसहित ४२ जनाविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको थियो ।

सीआईबीले उनीहरूलाई पक्राउ गरेर ६० दिन अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । हालसम्म १ हजार ४७१ जनाले उनीहरूविरुद्ध ठगी गरेको आरोपमा सीआईबीमा जाहेरी दिएका छन् । उनीहरूले दिएको जाहेरीका आधारमा हालसम्म ५ अर्ब ५७ करोड ८४ लाख रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

प्रहरीले इच्छाराज तामाङ, सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजरद्वय मायोनी महर्जन र एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिसटेन्ट संगित श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धकद्वय बुद्धराज तामाङ र कौसतुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह र पूर्व लेखा समिति सदस्य हरिहर लामिछानेलाई असोज १९ गते पक्राउ गरेको थियो ।

थुनछेक बहसपछि अदालतले हरिहर लामिछानेलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । अदालतले भगवानबहादुर सिंहलाई १० लाख, मायोनी महर्जनलाई ५ लाख, एलिना तुलाधरलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, राकेश महर्जनलाई ५० हजार, बुद्धराज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुंगानालाई ५ लाख, विजयविक्रम शाहलाई १५ लाख धरौटी र संगित श्रेष्ठलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ ।