समाचार

जघन्य अपराध घट्यो, बैँकिङ कसुर बढ्यो : प्रहरी प्रधान कार्यालय


काठमाडौँ – नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार देशभर केही जघन्य प्रकृतिका अपराधहरुमा कमी आएको छ । कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या, करणी जस्ता अपराधहरुमा कमी आएको हो । सोमबार नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले पत्रकार सम्मेलन गरेर चोरी, बैकिङ कसुर, लागु औषध, ठगी जस्ता घटना भने बृद्धि भएको बताए ।

गएको पाँच महिनाको अवधिमा सबैभन्दा धेरै बैंकिङ कसुरका घटना बढेको प्रवक्ता कुँवरले जानकारी दिए । गएको पाँच महिनामा देशर २ सय ४६ वटा हत्या भए । तर, सोही समयको अघिल्लो आर्थिक वर्षमा २ सय ९० वटा हत्याका घटनाहरु भएका थिए । आर्थिक वर्ष २०७७÷७८ मा २ हजार ९ सय सय ५८ जनाले आत्महत्या गरेका थिए । चालु आर्थिक वर्षमा २ हजार ६ सय २८ जनाले आत्महत्या गरेका छन् । तुलनात्मक रुपमा ११ प्रतिशतले आत्महत्यामा कमी आएको हो ।

करणीका घटनामा पनि ९ प्रतिशतले कमी आएको छ । गएको पाँच महिनामा ९ सय ९३ वटा करणीका घटना भएका छन् । आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनामा १ हजार ९७ वटा यस्ता घटना भएका थिए । हातहतियार खरखजना सम्बन्धी अपराधमा पनि कमी आएको छ । २१ प्रतिशतले यस्ता घटनाहरु कमी आएको हो। आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनामा मा १ सय १३ वटा घटना भएका थिए । तर, आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा ८९ वटा घटना प्रहरीमा दर्ता भएका छन् ।

सबै अपराधहरुको सङख्या कमी भए पनि साउनपछि देशभर चोरी र बैंकिङ कसुरजन्य अपराध बढेका छन् । ०७८ साउनयता देशभर १८ सय ७ वटा बैंकिङ कसुरका उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्ष सो अवधिमा ८ सय ८० मात्र उजुरी दर्ता भएका थिए । गत वर्षको तुलनामा यसवर्ष १ सय ५ दशमलव ३४ प्रतिशतले बैंकिङ कसुरजन्य अपराध वृद्धि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।