देश

नेपाल प्रहरीले सुरक्षाकर्मीहरुमा बढ्दो आत्महत्याको क्रमलाई रोक्न विस्तृत अध्ययन गर्ने


काठमाडौँ – नेपाल प्रहरीले सुरक्षाकर्मीहरुमा बढ्दो आत्महत्याको क्रमलाई रोक्न विस्तृत अध्ययन गरिने बताएको छ ।

सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक वसन्तबहादुर कुँवरले सुरक्षाकर्मीहरुले नै आत्महत्या गरिरहेको कारणलाई सम्बोधन गर्नेगरी बिस्तृत अध्ययन गरिने बताउनु भएको हो । उहाँले विगत ५ वर्ष यताको जानकारीमा १३/१४ जना विभिन्न तहका सुरक्षाकर्मीहरुले आत्महत्या गरिसकेको र अधिकांश सुरक्षाकर्मीहरुको आत्महत्याको कारण डिप्रेसनका रहेको बताउनु भयो ।

प्रवक्ता कुँवरले यस विषयलाई समाधान र सम्बोधन गर्न नेपाल पुलिसले मात्रै नसक्ने भएकोले केन्द्रिय सरकारदेखि प्रदेश र स्थानीय सरकारहरुको सहकार्यमा कारण खोजेर समस्या समाधान गर्ने बताउनु भयो । उहाँले बीचमा नै जागिर छोडेर हिँड्ने सुरक्षाकर्मीहरुको हकमा भने अवसरको खोजि मात्र भएको र यो स्वभाविक प्रक्रिया भएको बताउनु भयो । प्रवक्ता कुँवरले यो आर्थिक वर्षको शुरुवाती पाँच महिनामा १ हजार ३२६ वटा सिसि क्यामेरा देशभर जडान भएको बताउनु भयो ।

उहाँले महानगरीय प्रहरीले यो आर्थिक वर्षमा सिसिटिभीको कुरा, उपत्यकालाई सेभ भ्याली बनाउने सन्दर्भमा १४५ वटा सिसिटिभी, जडान गर्न ४ करोड ४० लाख रुपैयाँ विनयोजन भइ मूल्यांकनको प्रक्रियामा गएको जानकारी दिनुभयो । प्रवक्ता कुँवरले उपत्यकाका विभिन्न स्थानमा रहेको विभिन्न ३३ वटा ट्राफिक लाइट मर्मत गरिने र अन्य ३७ स्थानहरुमा ट्राफिक लाइट जडान गर्ने बताउनु भयो ।

प्रवक्ता कुँवरले ट्राफिक भत्ताको कुरा सम्बोधन हुने र कोभिडको बेला अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुको भत्ता आउने सम्भावना भने न्यून रहेको बताउनु भयो ।