समाचार

सप्तरीमा घाँटी रेटी महिलाको हत्या


काठमाडौँ – नेपालको पूर्वी तराई जिल्ला सप्तरीमा ५२ वर्षीय महिलाको घाँटी रेटी हत्या गरिएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही वीरपुरमा भुटनिदेवी यादवको हत्या भएको हो ।

घरबाट गहुँ खेतमा खरानी फाल्न भनेर हिडेकी यादव अबेरसम्म नर्फकेपछि खोज तलास गर्ने क्रममा सोमबार बिहान मृत अवस्थामा फेला परेको थियो । घटनास्थलमा तीन वटा बियरको बोतल समेत भेटिएको छ । तीन वटामध्ये दुईवटा बोत्तल फुटेको छ । यादवले नाकमा लगाएको फूलीसहित अन्य गरगहना पनि लुटिएको पीडित परिवारले बताएका छन् ।

छिन्नमस्ता गाउँपालिकामा एक महिनाकै अन्तरालमा दुई जनाको घाँटी रेटी हत्या भएको छ । यो भन्दा पहिला छिन्नमस्ता गाउँपालिकाकै वडा नम्बर ६ खुदीबखारीमा एक जना वृद्धको घाँटी रेटी हत्या भएको थियो ।