समाचार

शेर्पा सेवा केन्द्रको अधिवेशन पुष १७ मा


काठमाडौँ — शेर्पा समुदायकै जेठो संस्थाका रुपमा रहेको शेर्पा सेवा केन्द्रको आठौँ अधिवेशन पुस १७ मा हुने भएको छ । पाँचौं औतारी ङावाङ लोजाङ येशे रिन्पोछे (तोलका टुल्कु)को प्रमुख अतिथ्यमा यही पुस १७ गते शनिबार अधिवेशन आयोजना गरिएका शेर्पा सेवा केन्द्रका महासचिव आङकाजी शेर्पाले जानकारी दिनुभयो ।

संस्थाको आठौँ अधिवेशनमा संस्थापक सदस्य, आजिवन र केन्द्रिय सल्लाहकार तथा पदाधिकारीहरुलाई उपस्थितिका लागि उहाँले आग्रह समेत गर्नुभएको छ ।

संस्था स्थापना भएको साढे चार दशकको अवधिमा शेर्पा समुदायको भाषा, संस्कति र परम्परालाई समेत जोगाउन र युवा पुस्तालाई पनि थप जिम्मेवार बनाउन सफल भएको संस्थाका महासचिव शेर्पाले बताउनुभयो । यसले एक प्रकारको सन्तुष्टि समेत मिलेको उहाँकोभनाइ छ ।

आठौँ अधिवेशनमा संस्थाको कार्यप्रगति प्रतिवेदन, कोष प्रतिवेदनका साथै संस्थाको आगामी ५ वर्षका नयाँ नेतृत्व चयन हुनेछ ।शेर्पा सेवा केन्द्रमा बुद्ध मिलान केन्द्र, पूजा हल, पार्टी हल, प्रथामिक उपचार केन्द्रलगायत विभिन्न स्थानहरू निर्माण गरि शेर्पा समुदायहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

देशभरका विभिन्न जिल्लाबाट काठमाडौँ आएर बसोबास गर्ने र कतिपय उपचारको क्रममा काठमाडौँमै मृत्यु हुनेहरुको शव राख्न र मृत्यु पछिको संस्कारका लागि समेत केन्द्रको प्रयोग गरिँदै आएको छ ।

सुरुवाती दिनमा गुम्बामा एउटा मात्र शव राख्ने ठाउँ थियो । तर अहिले तीनवाट शव एकैपटक राख्न मिल्ने गरि व्यवस्था गरिएको छ ।
संस्थाले धार्मिक र सांस्कृतिक कार्यक्रमका साथै अध्ययनका लागि जेहन्दार विद्यार्थीलाई छात्रवृति पनि उपलब्ध गराउँदै आएको छ ।