समाचार

चार्ल्स शोभराजको निवेदनमा सर्वोच्चको कारण देखाऊ आदेश


काठमाडौँ — सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो ।

फ्रान्सेली नागरिक शोभराजले बुधबार सर्वोच्चमा बन्दीप्रत्यक्षिकरणको निवेदन दिएका थिए । उनले उमेरका कारण आफूलाई थुनामुक्त गर्न माग गरेका थिए । उनी अहिले ७७ वर्षका भए । उनलाई दुई विदेशी नागरिकको हत्यामा संलग्न रहेको अभियोगमा जन्मकैदको सजाय सुनाइएको छ ।

कारागार नियमावली, २०२० मा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था छ । त्यहि व्यवस्थालाई टेकेर उनले थुनामुक्त गर्न आदेश माग गरेका हुन् । कारागारभित्र आफ्नो असल चालचलन रहेकाले त्यो सुविधा पाउनु पर्ने माग गरेका छन्।

उनको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सिन्हाको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय, काठमाडौ र कारागार कार्यालय जगन्नाथदेवललाई कारण देखाऊ आदेश दिएको हो ।

यसअघि पनि उनले पटकपटक विभिन्न कारण देखाएर थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्च थुनामुक्त गर्न अस्वीकार गर्दै आएको छ । उनी २ असोज २०६० मा काठमाडौंको रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेका थिए । उनी पक्राउ परेसँगै हत्या र फर्जी राहदानीको अभियोगमा जिल्ला अदालत, काठमाडौंले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

६ पुस २०३२ मा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र लरेन्टको हत्या आरोप लागेपछि उनी भाग्दै आएका थिए । कोन्नी र लरेन्टको हत्याको प्रकृति एकै भएकाले कोन्नीको हत्या अनुसन्धानमा फेला परेका प्रमाण नै लरेन्ट हत्यामा प्रमाणका रूपमा प्रस्तुत गरियो ।

शुरुआतमा चार्ल्सले कोन्नी र लरेन्टलाई आफूले नचिन्ने दाबी गरेका थिए। पछि प्रहरीसँगको बयान क्रममा उनले कोन्नी र लरेन्ट एकै गेस्ट हाउसमा बस्ने गरेको जानकारी दिएका थिए ।

शोभराजलाई कोन्नीको हत्यामा सर्वश्व सहित जन्मकैदको सजाय २०७१ मा भुक्तान भए पनि त्यही समय लरेन्टको हत्याको मुद्दाको कारबाही पक्रिया अगाडि बढेको हो। पुनरावेदनले भक्तपुर अदालतकै फैसला सदर गरेसँगै शोभराजको जेल सजाय ९ वर्ष थपिएको हो ।