मौसम

देशभर चिसो बढ्यो, कसरी बच्ने ? (भिडियोसहित)


काठमाडौँ — काठमाडौँ लगायत देशका विभिन्न भागमा चिसो बढेको छ । नेपालमा मौसम परिवर्तन भएसंगै मंसिर, पुस र माघ महिनामा तापक्रम चिसिएर जनजीवन प्रभावित हुने गर्दछ । देशभर चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन मौसविद्ले सुझाव दिएका छन् ।

पुस महिना लागेसँगै काठमाडौँ उपत्यकालगायत देशभर चिसो बढेको छ । चिसो मौसममा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याले सताउने गर्छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हिमपात भैरहेको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

विज्ञका अनुसार चिसोले मुटुमा समेत गम्भीर असर पुर्याउँछ । यसकारण मुटुसम्बन्धी समस्या भएकाले यो समयमा विशेष सावधानी अपनाउनुपर्छ । चिसोका कारण रक्तनली साघुँरिएर रगत प्रवाहमा असर पार्छ र यसले हृदयाघातको सम्भावना बढाउँछ । रुघाखोकी र ज्वरोले जाडो मौसममा जोकोहीलाई दुःख दिन्छ । हातगोडा, अनुहारलगायतका छाला फुस्रो हुने र फुट्ने समस्या त सामान्य भइहाले ।

अधिक चिसोका कारण श्वासप्रश्वास र घाँटीको समस्याले सताउने र स्ट्रोक हुने भएकाले विशेष ध्यान दिनुपर्छ । चिकित्सकका अनुसार चिसो मौसममा बूढाबूढी र बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । कम र बढी उमेरका व्यक्तिको शरीरको रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरूलाई चिसोले बढी असर गर्छ । उनीहरू चिसोबाट बचाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।

जाडो मौसममा स्वस्थ्य रहनका लागि शरीरमा पानीको मात्र प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ । पटकपटक साबुनपानीले हात धोइरहनुपर्छ । न्यानो लुगा लगाउने, धुलो धुवाँ हुने स्थानमा ननिस्कने र तातो झोलयुक्त पदार्थको सेवन गर्ने गर्नाले चिसोबाट निम्तिने समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ । चिसो हावा र पानी परेको बेलामा घर बाहिर व्यायम गर्न ननिस्कन चिकित्सकहरुले आग्रह गर्ने गरेका छन् ।