समाचार

जाडोमा १० रुपैयाँमा नै छानी छानी कपडा (भिडियोसहित)


काठमाडौँ — काठमाडौँ उपत्यकामा चिसो बढ्दैछ, अर्थात तापक्रम घट्दैछ । मुटु छेड्ने चिसोकै कारण कतिपय मानिसहरु नराम्ररी प्रभावित हुन्छन् । यो मौसममा न्यानो कपडा, त्यो पनि सस्तो मूल्यमा कहाँ पाइएला ? काठमाडौँ सामाखुसीस्थित एक स्टोरले १० रुपैयाँ मात्रै लिएर कपडा उपलब्ध गराउँछ । महँगीको यो समयमा १० रुपैयाँमा कपडा कसरी सम्भव छ त ?

सामाखुसी टाउन प्लानिङस्थित सुखावती स्टोरमा कपडाका लागि दुई चार सय मात्रै खर्चिने हो भने झोलाभरी कपडा लिएर जान पाइन्छ । सामाजिक सेवाभावले सुरु गरिएको स्टोरमा १० देखि २ सय ५० रुपैयाँसम्म पर्ने लुगा–कपडा, किताब र घरायसी सामग्री समेत बिक्रीका लागि राखिएका छन् । आफूलाई अनुपयुक्त भएका कपडाहरु मानिसहरुले यस स्टोरलाई दिन्छन् ।

स्टोरले धोएर बिक्रीका लागि राखिदिन्छ । आवश्यक हुनेले तोकिएको मूल्य तिरेर लैजाने गर्छन् । नाम मात्रैको मूल्य राखिएका कारण यस स्टोरमा पुग्ने कसैले पनि पैशा नभएका कारण ‘किन्न सकिनँ’ भनेर फर्किनु पर्दैन । खरिद गर्नेहरु मात्रै होइन प्रयोगमा नआएका कपडा यहाँ बुझाउन आउनेहरु पनि धेरै छन् ।

हुने खानेहरुका लागि यस्ता कपडाको खास अर्थ हुँदैन, तर काठमाडौँको चिसोमा कठ्यांग्रीएर हिँड्नेहरुका लागि यो स्टोर न्यानो बाँड्ने केन्द्र बनेको छ । कम आयस्रोत भएका व्यक्तिले मात्र नभई मध्यम वर्गका मानिसहरु पनि अरुलाई दिनको लागि भए यहाँ कपडा किन्न आउँछन् । २ हजार रुपैयाँ खर्च गर्दा धेरैलाई पुग्ने कपडा पाउदाँ केही दंग देखिए ।

सुखावती स्टोरले दैनिक १५ हजारभन्दा बढीको कपडा बिक्री गर्छ । १० रुपैयाँ पनि तिर्न नसक्नेका लागि कपडा निःशुल्क दिइन्छ । बिक्रीबाट आएको रकमबाट स्टोरलेबालआश्रम वा वृद्धाश्रम आदिमा सहयोग तथा बालबालिकाको शिक्षामा लगानी गर्दै आएको छ ।