समाचार

हुम्लामा अन्तर जातीय विवाह गरेका युवक बेपत्ता, अपहरण गरेको आरोप


काठमाडौँ — अन्तर जातीय विवाह गरेपछि हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता भएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घात रूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेको युवकका आफन्तको दावी छ ।

सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रु गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेका थिए । बेहुली पक्षले युवक पक्षीय कामीलाई निर्घात कुटपिट गर्नुका साथै हप्ता दिनदेखि बेपत्ता पारेका छन् भने घरमा तोडफोड गरेका छन् ।

गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेर आफ्नो घरमा ल्याएको भन्दै युवती पक्षका करिब २० जनासम्मको समूहले मङ्सिर २९ आक्रमण गरेका थिए । बुधवार राति जैरका गाउँका अन्य छिमेकीका घरमा ताला लगाई आफ्नो घरको ढोका, झ्याल र छतको दाँती फाल्दै घरपरिवारलाई निर्घातरूपमा कुटपिट गरेको गुनासो बुवा धनजय कामीले दाबी गरे ।

ुअन्तर जातीय युवती विवाह गरेका कारण छोराले कुटाई खानुपर्‍यो, घरमा तोडफोड भयो । कुटपिटसँगै छोरालाई अपहरण गरी लिएर आजसम्म भेटाउन सकिएको छैन,’ उनले भने, ‘खै छोरालाई कर्णाली नदीमा फाले होलान् कि, अत्तोपत्तो छैन ।’

भागी विवाह गरेका कारण उनीहरूले माइत पक्षको धम्की सहँदै आउनुपरेको थियो । माइती पक्षको धम्कीका कारण छोरा बुहारी सर्केगार्ड गाउँपालिकाका वडा नं २ को रीपगाउँमा बस्दै आएको बुवा कामीले बताए ।

यता लिपु्रका माइती पक्षले खोजिरहेको भए पनि भेट्टाउन सकेका थिएनन्। पछि माइती पक्षबाट अहिलेको जमानामा पनि के को जातपात, आउ भेटौँ भनेर बोलाएपछि बिबाहित जोडी घरमा आएका थिए । बुधबार राति मात्रै युवकको घरमा माइती पक्ष आएर निर्घात कुटपिट गरेका थिए। हुम्लाबाट युवायुवतीलाई लिएर मुगु पुगेको भए पनि युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। युवक अझै बेपत्ता पारिएका छन् ।

घटनाका विषयमा प्रहरीलाई जानकारी आए लगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली र मुगु जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । प्रमुख जिल्ला अधिकारी आर्चायका अनुसार बेपत्ता युवक कामी र युवती मल्ल पक्षका दुवैसँग बुझ्ने र आवश्यक अनुसुन्धान भइरहेकाले युवती पक्षको बुवालाई प्रहरीले अनुसुन्धानका लागि नियन्त्रण लिएको बताए ।

प्रहरीले माइती पक्षका बुवा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । घटनास्थलमा प्रहरी नायब उपरीक्षक शर्मा आफैँ पुग्नुभएको छ । बेपत्ता पारिएका युवक अझै भेट्टाउन सकिएको छैन । प्रहरीले अनुसन्धान र खोजी तीव्र पारेको बताएको छ ।