देश

विश्वको ध्यान तान्ने ३५ वर्षका राष्ट्रपति, नेपालका नेताले केही सिक्लान् ? (भिडियोसहित)


काठमाडौँ – दक्षिण अमेरिकी देश चिलीको इतिहासमै कम उमेरका व्यक्ति राष्ट्रपति पदमा निर्वाचित भएका छन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपतिमा निर्वाचित भएको यो खबरले विश्वका धेरै देशको ध्यानाकर्षण भएको छ, जहाँ बढी उमेरका मानिसहरुले राजनीतिमा कब्जा जमाएका हुन्छन् ।

नेपालमा यतिबेला राजनैतिक दलहरुमा पुस्तान्तरणको चर्चा चुलिएको छ । ५५ बर्षीय राजेन्द्र लिङ्देन राप्रपाका अध्यक्ष बन्नु, ४५ कटेका गगन थापा कांग्रेसको महामन्त्रीमा निर्वाचित हुनु जस्ता घटनाले नेपालमा पनि नयाँ पुस्ताले राजनीति हाँक्ने आँकलन भइरहेको छ । यो सन्दर्भ चलिरहँदा चिलीमा ३५ वर्षीय गेब्रिएल बोरिक राष्ट्रपति बनेको खबर सार्वजनिक भएको छ । ३५ वर्षका पूर्वविद्यार्थी नेता राष्ट्रपतिको कुर्सीमा पुगेपछि बोरिकप्रति विश्वको ध्यान तानिएको छ ।

वामपन्थी नेता बोरिकले राष्ट्रपतिको लागि भएको चुनावमा अति–दक्षिणपन्थी नेता होसे एन्टोनियो कास्टलाई पराजित गरे । बोरिक विश्वकै सबैभन्दा कम उमेरका नेताहरू मध्ये एक हुन् । उनी चिलीको इतिहासमै सबैभन्दा कान्छो राष्ट्रपति समेत हुन् । बोरिकले ५६ प्रतिशत मत प्राप्त गरे भने उनको प्रतिद्वन्द्वी कास्टले ४४ प्रतिशत मत प्राप्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
चिलीमा सन् २०१९ र २० मा असमानता र भ्रष्टाचारविरुद्ध भएको जनप्रदर्शनले यस मुलुकलाई हल्लाएको थियो । त्यो आन्दोलनका अगुवा मध्येका एक बोरिक पनि थिए ।
कुनै समय ल्याटिन अमेरिकाको सबैभन्दा स्थिर अर्थतन्त्र भएको चिली अहिले विश्वका सबैभन्दा ठूलो आर्थिक असमानता हुने देशमा पर्छ । संयुक्त राष्ट्रसंघका अनुसार चिलीको एक प्रतिशत जनसंख्यासँग देशको २५ प्रतिशत सम्पत्ति रहेको छ । बोरिकले चिलीको निवृतिभरण र स्वास्थ्य प्रणाली सुधार, हप्तामा काम गर्नुपर्ने समय ४५ बाट ४० घण्टा बनाउने र हरित लगानीलाई प्रवद्र्धन गर्दै असमानतालाई सम्बोधन गर्ने बाचा गरेका छन् ।

यसैबीच, निवर्तमान राष्ट्रपति पिनेराले चिली अत्यधिक ध्रुवीकरण, टकराव र विवादको वातावरण’ मा बाँचिरहेको बताउँदै आफ्नो उत्तराधिकारीलाई ‘सबै चिलियन्सका राष्ट्रपति हुन आग्रह गरेका छन ।