देश

जर्सिङपौवाको रिसोर्टमा किशोरी मृत फेला


काठमाडौँ – राजधानीको शंकरापुर नगरपालिका–३ जर्सिङपौवास्थित लाङटाङ ईको रिसोर्टमा काम गर्ने १९ वर्षीय किशोरी मृत फेला परेकी छिन् । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–९ घर भएकी उर्मिला आले मगर मृत अवस्थामा भेटिएकी हुन् ।

सोही रिसोर्टमा कार्यरत उनका सहकर्मी मोरङ लेटाङका अर्जुन मगर र मृतक उर्मिला बिहान अबेरसम्म नउठेपछि रिसोर्टका मालिकले ढोका फोरेर भित्र छिर्दा उर्मिलालाई मृत अवस्थमा भेटेका थिए । अर्जुन भने अचेत अवस्थमा थिए । उनी उपचारपछि अहिले होसमा आएका छन् ।

उर्मिला र सो रिसोर्टमा काम गर्ने मोरङ लेटाङका अर्जुन मगरसँगै सुतेका थिए । चिसोका कारण उनीहरु कोइला बालेरसँगै सुतेका थिए । उर्मिला र अर्जुन लिभिङ टुगेदरमा थिए ।

झ्याल ढोका बन्द गरेर सुतेको हुनाले निसासिएर मृत्यु भएको हुनसक्ने महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । उर्मिलाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । अर्जुनलाई आफन्तको जिम्मा लगाइएको डिएसपी न्यौपानेले बताएका छन् ।