काठमाडौँ – विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार,गतवर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पिक डिमाण्ड)तीन सय मेगावाटको हाराहारीमा बढेको हो ।
आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको छ ।
विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा भएको बृद्धि, विद्युतबाट सञ्चालन हुने यातायातका साधनको बृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युतलगायतका कारणले दैनिक रुपमा खपत बढिरहेको छ । प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत उपलब्ध गराएकाले पनि माग बढेको हो ।
विद्युतको माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवैमा बढिरहेको छ । मंंसिर २७ गते प्रणालीमा विद्युतको उच्च माग १५३९ मेगावाट थियो । यो माग गत वर्षको सोही दिनको १२१७ मेगावाटको तुलनामा ३२२ मेगावाट बढी हो । यस आधारमा विद्युतको पिक डिमाण्ड गतवर्षको सोही दिनको तुलनामा २६.५ प्रतिशत बृद्धि भएको प्राधिकरणले जनाएको छ ।
मंसिर २७ गतेको प्रणालीको पिक डिमाण्ड पूर्तिका लागि प्राधिकरणका विद्युतगृहहरुबाट ५४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युतगृहहरुबाट ५२९ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरुबाट ४२५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो । सोही दिन पिक समयमा पनि ४ मेगावाट विद्युत भारततर्फ निर्यात गरिएको थियो ।


प्रतिक्रिया